कुस्मि सेरा खबर
समाचार
काठमाडौं, कार्तिक १६ । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ ।
सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।
फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत सहित टोली लिएर आइतबार बिहान बन्चरेडाँडा पुगेका थिए ।
टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुका साथै ल्यान्डफिल साइट पर्ने धादिङको धुनिबँेसी नगरपालिका प्रमुख, नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका अध्यक्ष र स्थानीयवासिन्दासँग अन्तर्क्रिया गरेको थियो ।
