निर्वाचन अवधिमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन कडाइ
राजेशचन्द्र राजभण्डारी
बागलुङ, फागुन १९
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग सहमति गरेको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ तथा पेट्रोलियम पदार्थ डिलर व्यवसायीबीच छलफल गरी निर्वाचन अवधिभर पेट्रोलियम पदार्थ अभाव हुन नदिने सहमति गरिएको हो।
सहमतिअनुसार निर्वाचन प्रयोजनका लागि खटिएका निकायले पेट्रोलियम पदार्थ माग गरेको अवस्थामा उपलब्ध गराउनुपर्नेछ। जिल्लामा जुनसुकै समयमा पनि आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ मौज्दात राख्ने व्यवस्था मिलाइने जनाइएको छ।
यस्तै, शान्ति सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन अवधिमा तथा अन्य समयमा समेत खुला रूपमा (बोतल, जार, ग्यालिन आदि) पेट्रोलियम पदार्थ बिक्री–वितरण नगर्न/नगराउन निर्देशन दिइएको छ।
सम्बन्धित पेट्रोल पम्पहरूले निर्वाचन अवधिभर पर्याप्त परिमाणमा पेट्रोलियम पदार्थ भण्डारण गरी मागअनुसार बिक्री–वितरण गर्ने व्यवस्था मिलाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल, न्यू धौलागिरी इन्टरप्राइजेज प्रालिका प्रतिनिधि हायश्वर सुवेदी रवि र सुमन पौडेल तथा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठबीच उक्त सहमति भएको हो।
