८ पुष, काठमाडौँ । म्यानमार, थाइल्याण्ड, कम्बोडिया र लाओस लगायतका देशमा जान चाहने नेपालीहरुका लागि परराष्ट्र मन्त्रालयले तीन बुँदे ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गर्दै ती मुलुकहरुमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरुलाई सावधानी अपनाउन अपिल गरेको छ ।
मन्त्रालयले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बढी रहेका कारण ट्राभल एडभाइजरीमा ध्यान दिनसमेत सम्बन्धीत पक्षलाई सूचित गराएको छ ।
कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२-१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरू रहेको जानकारी प्राप्त भएको मन्त्रालयको विज्ञप्तीमा भनिएको छ ।
मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई ती देश लैजाने समेत भनिएको छ ।
ट्राभल एडभाइजरी यस्तो छ:
१. अनलाइन जुवा, कल सेन्टर – फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरूलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएको एवं थाइल्याण्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकोले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य श्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न हुन,
२. वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/ रोजगारदाताहरूको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रुपमा ती फर्म/कम्पनी/रोजगारदाताहरूको वेवसाइट चेकजाँच गर्नुहुन ।
३. उल्लिखित विषयहरु लगायतका सम्बन्धमा कुनै जानकारी लिनु परेमा नेपाली राजदूतावास, याङ्गुनका द्वितीय सचिव श्री गंगा सुन्दास (इमेल eonyangon@mofa.gov.np/sundasganga23@gmail.com;टेलिफोन नम्बर +95-01-9545880/01- 9557168 र Hotline/Viber/Whatsapp No. +959251242051 / फेसबुक पेज Embassy of Nepal Yangon Myanmar) तथा नेपाली राजदूतावास, बैंककका प्रथम सचिव श्री खगराज पाण्डे (इमेल conbangkok@mofa.gov.np/ khagaraj.pandeva@mofa.gov.np: टेलिफोन नम्बर +66869915554 (Whatsapp) लाई सम्पर्क गर्न हुन ।




