तीन करोड लागतमा दब्ल्याङको पहिरो नियन्त्रणको काम सुरु

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

कुस्मिसेरा habar com
३ पुष २०८२, बुधबार
,
मुख्य खबर
तीन करोड लागतमा दब्ल्याङको पहिरो नियन्त्रणको काम सुरु

बागलुङ । सुजन अाचार्य त्येक वर्ष वर्खाको समयमा दुःख दिने दब्ल्याङको पहिरो नियन्त्रण तथा व्यवस्थापनका काम अगाडि बढाइएको छ। दक्षिण बागलुङ र गुल्मी जोड्ने सडक समय(समयमा बाधा पुर्‍याउने पहिरो व्यवस्थापनका निम्ति संघीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयको चालू आर्थिक वर्षमा विनियोजित तीन करोड बजेटबाट पहिरो नियन्त्रण तथा व्यवस्थापनको काम अगाडि बढाउने तयारी गरिएको हो।

बागलुङ नगरपालिका–१०, भकुन्डेमा पर्ने पहिरोले मालढुंगादेखि भकुन्डे, रायडाँडा र छिमेकी गुल्मी जिल्ला जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा जोड्ने सडक अवरुद्व हुँदा यात्रीले सास्ती खेप्दै आएका छन्।

यस वर्ष विनियोजित बजेटले मुख्य समस्यालाई हटाउने प्रयास गरिने योजना रहेको छ। त्यसका लागि बर्खायाममा भकुन्डेको द्वारा, गलुवा हुँदै आउने पानीलाई दिगो रूपमा तर्काउने योजना रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीका डिभिजन प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए।

आयोजना प्रमुखसहित गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी र प्राविधिक तथा कन्सल्टेन्ट टोलीले दब्ल्याङ पहिरो र पहिरोदेखि माथिल्लो भागको स्थलगत अवलोकन गरेका थिए। पहिलो चरणमा माथिबाट बग्ने पानी व्यवस्थापन गरेपछि सडक बनाउनुपर्ने प्राविधिक सल्लाहअनुसार आयोजनाले चालू आर्थिक वर्षको तीन करोड बजेटले नियन्त्रण व्यवस्थापन र संरक्षणको काम गर्ने भएको हो।

‘अहिलेको प्रारम्भिक अध्ययनअनुसार यस वर्षको बजेटले पानीको व्यवस्थापन गरेर नजिकैको न्वारे खोला हुँदै काठेखोलामा खसाइनेछ। ‘अगाडि नै यस क्षेत्रमा कच्ची नाली बनेको रहेछ,’ प्रमुख श्रेष्ठले भने, ‘यसलाई पक्की बनाएर माथिबाट आउने सबै पानी तर्काउन सकियो भने पहिरो नियन्त्रण हुनेछ। आगामी वर्षको बजेटबाट सडक संरचना निर्माणको काम हुनेछ।’

श्रेष्ठका अनुसार यस वर्ष पानी तर्काउने कामका साथै पहिरो क्षेत्रमा बायो इन्जिनियरिङको काम पनि हुनेछ। आयोजनाले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउने र आगामी दुई महिनाभित्र निर्माणको काम थालनी गरिने बताएको छ। पहिरो व्यवस्थापनका निम्ति दुई वर्ष पहिले गण्डकी प्रदेश सरकारको सहयोगमा भौगर्भिक अध्ययन गरिएको थियो।

अध्ययनमा पूर्ण रूपमा पहिरो व्यवस्थापन र सडक सञ्चालनका निम्ति करिब २० करोडको लागत निस्किएको थियो। सोहीअनुसार संघीय सरकारबाट आवश्यक बजेट व्यवस्थापनका निम्ति माग भएबमोजिम यस वर्ष ३ करोड विनियोजन भएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए।

‘पहिरो नियन्त्रण र व्यवस्थापनका निम्ति भूगर्भविद्हरूबाट विस्तृत अध्ययन भइसकेको छ, झन्डै २० करोड लाग्ने अनुमान छ,’ सुवेदीले भने, ‘प्राविधिक प्रतिवेदनअनुसार २० मिटर तल चट्टान रहेको हुँदा यसलाई सानो बजेटले हुँदैन, चालू आर्थिक वर्षका लागि छुटिएको रकम जेन-जी आन्दोलनका कारण रोकिएको थियो।

लामो प्रयासपश्चात् यसलाई कार्यान्वयनको पक्षमा छौँ, यस वर्ष माथिल्लो भागको पानी नियन्त्रणको काम हुनेछ। अर्को वर्ष अन्य काम गर्ने योजना छ।’ उनले यो योजनालाई बहुवर्षीय बनाउनका निम्ति आयोजना बैंकमा समेत समावेश गरिएको बताए। कुल १८ करोडको लागत हुने गरी बहुवर्षीय योजनाको रूपमा समावेश गरिनेछ।

गत वर्षमा पनि गलुवाको विद्यालयबाट सडक सञ्चालन गरी पहिरो नियन्त्रणका केही काम भएको सुवेदीले बताए। पहिरो नियन्त्रणका लागि पटक(पटक भएका प्रयास असफल भएपछि दिगो व्यवस्थापनको काम थालिएको हो। २०७६ सालबाट प्रत्येक वर्ष बर्खाको समयमा सडक अवरुद्ध बन्ने र वर्षातमा महिनौँसम्म सडक ठप्पै हुने गरेको छ।

पहिरो हटाउन र व्यवस्थापनका निम्ति पूर्वाधार विकास कार्यालय र बागलुङ नगरपालिकाले गरेको करोडौँ रुपैयाँ हरेक वर्ष खेर गइरहेको छ। पहिरोले करिडोर र माथिल्लो सडकलाई असर गर्न थालेपछि गण्डकी प्रदेश सरकारको लगानीमा पर्वतको कुश्मा नगरपालिका– १ नयाँ पुलदेखि बागलुङ नगरपालिका–१३ पैयुँपाटाको कालाखोला जोड्ने पक्की पुल निर्माणको काम अगाडि बढाएको छ।

पुल निर्माणका निम्ति ठेक्का सम्झौता भई माटो परीक्षणलगायतका काम भएका छन्। पुलको नक्सा डिजाइन अन्तिम चरणमा पुगेको भौतिक विकास तथा पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार